२०८२ साउन २२, बिहिवार , १०:०८:४९ बजे

Sajhamanch
'

राप्रपामा लिङ्देन–राणा विवाद उत्कर्षमा !

बिहिवार, साउन २२, २०८२

काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र घोषणाको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा बीचको विवादले चरम रूप लिएको छ।

उहाँहरूबाट फरकफरक भेला, बैठक र कार्यक्रमहरू हुन थालेका छन्। विवाद बढ्दै गएपछि कार्यकर्ता चाहिँ अलमलमा परेको नागरिकमा खबर छ ।

विवाद बढेपछि असन्तुष्ट पक्षले पार्टी अध्यक्षलाई कार्यसम्पादन समितिको बैठक बोलाउन माग गरेको छ। अहिले राप्रपा कार्यसम्पादन समितिमा अध्यक्ष राजेन्द्र लिङ्देनको पक्षमा ४१ सदस्य र असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका महामन्त्री राणासँग ११ सदस्य छन्।

विधानअनुसार कम्तीमा १७ जना सदस्यले कार्यसम्पादन समितिको बैठक माग गर्न सक्छन्। असन्तुष्ट पक्षले माग गर्दैमा अध्यक्षले बैठक बोलाउने अवस्था नभएको एक नेताले बताए। पार्टी संस्थापन पक्षले बैठक बोलाउने मनस्थिति बनाएको छैन।

अध्यक्षले नेताहरूलाई भटाभट निकाल्न थालेका कारण आफूहरूले कार्यसम्पादन समितिको बैठक बोलाउन माग गरेको असन्तुष्ट समूहको नेतृत्व गरेका महामन्त्री राणाले बताउनु भयो ।

‘पार्टीभित्र विवाद हामीले गरेका होइनौं, अध्यक्षज्यूले भटाभट नेताहरूलाई निकाल्न थाल्नुभयो। त्यसकारण कार्यसम्पादन समितिको बैठक माग गरेका हौं’ महामन्त्री राणाको भनाई छ ।

पार्टीमा विवाद बढ्दै गएकाले पुराना तथा त्यागी नेताहरूले राजीनामा दिन थालेका छन्। नवराज सुवेदीको जिम्मेवारी खोसिनु, प्रवक्ताबाट सगुनसुन्दर लावती हटाइनु, अध्यक्ष लिङ्देनका स्वकीय सचिवले कार्यकर्ता माथि अभद्र व्यवहार गर्नु विवाद निम्तिनुका मुख्य कारण मानिन्छन् ।

राप्रपाभित्र विवाद बढेपछि केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले राजीनामा दिइसकेका छन्। राजसंस्था फर्काउने आन्दोलनमा लागेको राप्रपाभित्र आन्तरिक कलह चर्कंदै जाँदा कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन्।

नवराज सुवेदीले विगतमा सम्हालेको पार्टी अनुशासन समिति संयोजकको जिम्मेवारी अध्यक्ष लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई दिएपछि सुवेदी निर्वाचन आयोगको ढोका ढकढक्याउन पुग्नुभयो ।

राप्रपाले असार २५ मा अनुशासन समिति संयोजकमा उपाध्यक्ष कार्कीलाई मनोनित गरेको थियो । लिङ्देनले प्रवक्ताबाट लावतीलाई पनि हटाए पछि लावती महामन्त्री डा. राणाको अभियानसँग जोडिएको बताइन्छ ।

डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय राणा र कुन्ती शाहीले अध्यक्ष लिङ्देनले विधान विपरीत सुवेदीलाई अनुशासन आयागको संयोजकबाट हटाएको भन्दै सार्वजनिक विज्ञप्तिमार्फत विरोध गरिसकेका छन्।

लिङ्देनले उपाध्यक्ष गिरीलाई पनि पदमुक्त गरिदिनु भएको छ । जसलाई लिङ्देनले नै केन्द्रीय सदस्य र उपाध्यक्ष मनोनित गर्नुभएको थियो ।

विवाद चुलिँदै गएपछि अध्यक्ष लिङ्देनले उपाध्यक्ष रवीन्द्र मिश्रलाई उहाँकै घरमा पुगेर भेट गर्नुभएको छ । अहिले पनि राप्रपामा विवाद साम्य हुने अवस्था देखिँदैन।

राजसंस्था पुनस्र्थापनाको मुद्दा लिएर सडकमा निस्केको राप्रपा आन्तरिक विवादमा फस्दा आन्दोलन पनि तुहिएको छ। विवाद चुलिँदै गएपछि असन्तुष्ट समूहले छुट्टै भेला, बैठक गरेको छ।

सम्बन्धित खबर