
झापा । अमेरिकाले जापानको हिरोशिमामा परमाणु बम खसालेको ८० वर्ष पूरा भएको छ । सन् १९४५ अगस्ट ६ तारिखमा अमेरिकाले जापानमा पहिलो पटक परमाणु बम आक्रमण गरेको थियो ।
दोस्रो विश्वयुद्धका क्रममा जापानलाई आत्मसमर्पण गराउने उद्देश्यले अमेरिकाले जापानी शहर हिरोशिमामा परमाणु बम खसालेको थियो । हिरोशिमामा खसालेको ुलिटल ब्याईु नामक बममा झन्डै १५ हजार टन विस्फोटक पदार्थको शक्ति थियो । यसले १३ वर्गकिलोमिटर क्षेत्रलाई ध्वस्त पारेको थियो ।
तर जापानले आत्मसमर्पण नगरेपछि अमेरिकाले त्यसको ३ दिनपछि अगस्ट ९ तारिखमा जापानको अर्को शहर नागासाकीमा पनि परमाणु बम आक्रमण गरेको थियो ।
परमाणु बमले कति मानिसको ज्यान लियो भन्ने यकिन तथ्याङ्क छैन । तर हिरोशिमाको ३ लाख ५० हजार जनसङ्ख्यामध्ये १ लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जनाको ज्यान गएको बताइन्छ ।
बमको विकिरणको असरका कारण हप्तौं, महिनौं र वर्षौंपछि पनि विभिन्न रोगका कारण मानिसले ज्यान गुमाएका थिए ।
बम विस्फोटपछि जापानले सन् १९४५ अगस्ट १४ तारिखमा आत्मसमर्पण गरेको थियो । त्यसपछि एशियामा दोस्रो विश्वयुद्ध सकिएको हो । युरोपमा भने सन् १९४५ को मे ७ तारिखमै युद्ध सकिएको हो ।
यसैबीच जापानले हिरोशिमामा परमाणु बम आक्रमण भएको ८० वर्ष पुगेको सम्झनामा बिहान मौन प्रार्थना कार्यक्रम आयोजना गरेको छ । समारोहमा जापानी प्रधानमन्त्री शिगेरु इशिबालगायत विश्वभरका अधिकारीहरू उपस्थित हुनुभयो ।
शहरको शान्ति स्मृति पार्कमा भएको समारोहमा हिरोशिमाका मेयर काजुमी मात्सुईले युद्धमा आणविक बम विस्फोट भएको जापान एकमात्र राष्ट्र भएको बताउँदै सरकारले वास्तविक र दिगो शान्तिको आकाङ्क्षा राख्ने नागरिकको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो ।