
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले विभिन्न मितिमा मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानहरूबाट विद्युतीय ट्रान्सफर्मर चोरी भएका घटना तथा चोरीमा संलग्न व्यक्तिहरू, चोरीका समान खरिद गर्ने व्यक्तिहरू र चोरी गर्न प्रयोग भएका औजार सहितको घटना विवरण सार्वजनिक गरेका हुन् ।
चोरी भएका ट्रान्सफर्मरका सामग्रीहरू बिक्री तथा खरिद गर्न सक्ने सम्भावित कवाडी पसल, भाँडा पसल तामा फ्याक्ट्रीहरूमा निगरानी तथा खानतलासी गर्दा चोरीमा संलग्न ७ जना व्यक्तिहरू र उक्त चोरीका सामग्री खरिद गर्ने ५ जनालाई ट्रान्सफर्मर चोरीमा प्रयोग भएका औजार, सवारी साधनहरू तथा ट्रान्सफर्मरमा प्रयोग भएका तामाको तारहरू सहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा मोरङ ग्रामथान-४ का ४२ वर्षीय अर्जुन कुमार माझी, ग्रामथान-५ का ३१ वर्षीय इरज धामी, बेलबारी-३ का २७ वर्षीय रञ्जित तामाङ, बेलबारी-४ का २६ वर्षीय अर्जुन चौधरी, सुनसरी दुहबी-३ का ३५ वर्षीय अनुज विस्वास, दुहबी-२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी र भारत घर भई हाल दुहबी-४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँलाई पक्राउ गरिएको हो।
त्यस्तै, चोरीको सामान खरिद गर्ने विराटनगर-३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर-६ का ६२ वर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहबी-३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी-२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी-४ का ३९ वर्षीय सिताराम राईलाई उनीहरूले खरिद गरेको चोरीको सामग्रीसहित नियन्त्रणमा लिइएको छ।
प्रहरीले सुनसरीको इटहरी-१४ स्थित इरज धामीको डेरा कोठाबाट ७ किलोग्राम, इटहरी-४ का सिताराम राईको भाडा पसलबाट ४७ किलोग्राम, इटहरी स्थित दिलीप चौधरीको कवाडी पसलबाट १२० किलोग्राम, मोरङ बुढीगंगा-३ स्थित विनय साहको यस यस मेटल फ्याक्ट्रीबाट ११५ किलोग्राम, विराटनगर-६ का अजय साहको दुर्गा भाडा पसलबाट ६२ किलोग्राम, कृष्ण गोपाल ताम्राकारको मनकामना मेटल्स एण्ड सप्लायर्सबाट १७ किलोग्राम, लक्ष प्रधानको कवाडी पसलबाट ५२० ग्राम ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार बरामद गरेको थियो ।