
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई पूर्णरूपमा कब्जा गर्ने सम्भावित इजरायली योजनामा आफू हस्तक्षेप नगर्ने सङ्केत दिनुभएको छ ।
हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले यस्तो बताउनुभएको अल जजिराले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पूरै प्यालेस्टिनी भू–भाग कब्जा गर्ने निर्णय गरेको भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले अहिले गाजामा नागरिकलाई खाना खुवाउने कुरामा केन्द्रित रहेको र अरू विषय इजरायलकै हातमा रहेको प्रतिक्रिया दिनुभयो ।
अमेरिकाले इजरायललाई वार्षिक रूपमा अर्बौं डलर सैन्य सहायता दिँदै आएको छ जुन सहयोग २०२३ को अक्टोबरमा गाजामा युद्ध शुरू भएदेखि झनै बढेको छ ।
इजरायलले गाजाको ८६ प्रतिशत भू–भागलाई सैन्य क्षेत्र घोषणा गर्दै लाखौं प्यालेस्टिनीहरूलाई बम वर्षा र भोकमरीका बीच सानो क्षेत्रमा सीमित गरेको छ ।
बाँकी क्षेत्रमा सैन्य कारबाही बढाइएमा अझ धेरै निर्दोष नागरिकको ज्यान जोखिममा पर्ने देखिन्छ । संयुक्त राष्ट्रसङ्घले गाजाको पूर्ण कब्जा भयावह परिणाम निम्त्याउने खतराका रूपमा रहेको बताएको छ ।
प्रधानमन्त्री नेतान्याहूले गाजाबाट सबै प्यालेस्टिनीहरूलाई हटाउने सङ्केत दिनुभएको खबरमा उल्लेख छ जसलाई जातीय सफायाको प्रयास भएको भन्दै आलोचना भइरहेको छ ।