२०८२ साउन २०, मङ्गलवार , ०६:३३:४९ बजे

Sajhamanch
'

कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

मङ्गलवार, साउन २०, २०८२

काठमाडौं । कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदनसभामा पेस गर्नु भएको हो ।

गत असार २३ गते समिति गठन भएको थियो । सात सदस्यीय समितिका सभापतिमा परियार हुनुहुथ्यो ।

प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्दै सभापति परियारले चार वटा कार्यदेश दिइएको स्मरण गर्नुभयो । जसमा २ वर्ष कुलिङ पिरियड राख्ने राजनीतिक सहमति अनुसारको विधेयकको दफा ८२ को उपदफा ४ र ५ मा तादम्यता कायम नरहनुको कारण खोज्न भनिएको थियो ।

त्यस्तो तादम्यता नमिल्नुमा कसको कस्तो भूमिका रहेको छ भन्ने छानबिन गर्न र विधेयकको प्रतिवेदनमा संलग्नता देखिए त्यस्तोमा कारबाही गर्नुपर्ने भए के गर्ने सिफारिस गर्न भनिएको थियो । भविष्यमा कमजोरी हुन नदिन के गर्ने भनेर चौथो कार्यदेश दिइएको थियो ।

सुरुमा २१ दिनको समय दिइएको थियो । समितिले समय अपुग रहेको बताएपछि सात दिन समय थपिएको थियो । त्यसअनुसार असार १८ गते नै म्याद सकिएता पनि निरन्तरतामा बैठक राखेर आज पास गरेर सभामा प्रतिवेदन पेस गरेको हो ।

यसबीचमा समितिमा ३७ वटा बैठक बसेको सभापति परियारले जानकारी दिनुभयो । सरोकारवाला, राजनीतिक दलका प्रतिनिधिहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू लगायतसँग सोधपुछ गरिएको स्मरण गर्नुभयो ।

२०७२ सालको संविधान जारी भएसँगै निजामती विधेयक धेरै पहिले नै बनाइसक्नुपर्ने स्मरण गर्दै उहाँले २०७५ मा संसद्‌मा आएको विधेयक फिर्ता हुन पुगेको बताउनु भयो ।

प्रतिनिधि सभाको चालू कार्यकालमा २०८० फागुन २१ गते निजामती विधेयक संसद्मा आएको उहाँले बताउनु भयो ।

निजामती विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका लागि पुगेको र राज्य व्यवस्था समितिले पनि उपसमिति बनाएर छलफल गरेको स्मरण गर्नुभयो ।

उपसमिति बनाएर दफावार छलफल गरेको स्मरण गरेको उल्लेख गदै उहाँले स्वार्थ समूहको दबाब समेत झेलेर विधेयक अगाडि बढेको बताउनु भयो ।

राज्य व्यवस्था समितिले विधेयक पारित गर्दा सरकारी सेवाका कर्मचारीलाई दुई वर्ष कुलिङ अफ पिरियडको व्यवस्था राख्नेमा सहमति भएको पाइएको र सोहीअनुसार निष्कर्ष निकालेको सभापति परियारले बताउनु भएको छ।

सम्बन्धित खबर