२०८२ साउन १८, आइतवार , ०२:२१:५९ बजे

Sajhamanch
'

अमेरिकामा विश्वकै लामो चट्याङ प्रकाशको कीर्तिमान कायम

आइतवार, साउन १८, २०८२

झापा । अमेरिकामा विश्वकै लामो चट्याङ प्रकाशको कीर्तिमान कायम भएको छ । अमेरिकामा ८२९ किलोमिटर अर्थात् ५१५ माइलसम्म फैलिएको चट्याङ प्रकाशले कीर्तिमान बनाएको बीबीसीले जनाएको छ ।

विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी टेक्सासदेखि मिसोरीको कन्सास सिटी नजिकको क्षेत्रमा चट्याङबाट उत्पन्न बिजुलीको चमक देखिएको थियो । यसले यसअघिको कीर्तिमानलाई ५० माइलभन्दा धेरैले तोडेको हो ।

सङ्गठनको अमेरिका, ब्राजिल, जर्मनी, स्पेन, नेपाल, इजरायलमा रहेका विज्ञहरूको ११ सदस्यीय समितिले नयाँ कीर्तिमान प्रमाणित गरेको छ । संयुक्त राष्ट्रसङ्घको मौसम मामिला निकाय (डब्ल्यूएमओ) का अनुसार सन् २०१७ को अक्टोबर २२ को लामो विशाल चट्याङले महाकाय विद्युतीय शक्ति उत्पन्न गरेको थियो ।

यो चट्याङ परेको क्षेत्रलाई पार गर्न सामान्यतया एउटा कारलाई झन्डै आठदेखि नौ घण्टा र हवाईजहाजलाई झन्डै ९० मिनेटको समय लाग्ने खबरमा उल्लेख छ ।

यसअघि सन् २०२० अप्रिल २९ मा मिसिसिपी र टेक्सासको बीचमा ७६८ किलोमिटर अर्थात् ४७७ माइल लामो चट्याङ प्रकाशको कीर्तिमान कायम भएको थियो ।

सम्बन्धित खबर