
झापा । बङ्गलादेशको अन्तरिम सरकारले विगतको सत्तालाई अपदस्थ गरेको एक वर्ष पूरा भएको अवसरमा अगष्ट ५ तारिखका दिन प्रजातान्त्रिक आमूल परिवर्तनका कामहरूको सूची जारी गर्ने जनाएको छ ।
झन्डै १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहले राजनीतिक परिवर्तन ल्याएको हो । सन् २०२४ अगष्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरी १५ वर्ष लामो शासन अन्त्य गरेपछि नयाँ सरकार गठन भएको हो ।
नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारको रूपमा नेतृत्व गरिरहनुभएको छ । युनुसले यसअघि प्रजातान्त्रिक संस्थाहरूको सुधारका लागि ‘ठूलो प्याकेज’ सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
सन् २०२६ को शुरुमा हुन लागेको चुनावअघि राजनीतिक दलहरूबीच सत्ताका लागि होडबाजी चल्दा सहमतिको प्रयासमा सुस्तता छाएको छ । युनुसको सरकारले राजनीतिक शक्ति सङ्घर्षले प्राप्त उपलब्धिलाई खतरामा पार्ने चेतावनी दिएको छ ।
जुलाई २९ मा युनुसले आफू समावेशी, सहभागितामूलक र विश्वसनीय निर्वाचन प्रदान गर्ने नयाँ राजनीतिक प्रणालीका लागि व्यापक राष्ट्रिय सहमति निर्माण गर्न लागि परेको बताउनुभएको थियो ।
युनुसको कार्यालयले हिजो जनविद्रोहमा संलग्न सबै राजनीतिक दलहरूको उपस्थितिमा जुलाईको घोषणा अनुसार राष्ट्रसमक्ष कार्यक्रम प्रस्तुत गरिने जनाएको अन्तर्राराष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।