२०८२ साउन १६, शुक्रवार , १२:५०:३० बजे

Sajhamanch
'

विश्व स्तनपान सप्ताह शुरू : जीवनशैली र सोचाइमा आएको परिवर्तनले बोतलबाट दूध खुवाउनेको सङ्ख्या बढ्दो

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ’ भन्ने नाराका साथ आजदेखि नेपालमा पनि स्तनपान सप्ताह मनाइँदैछ ।

विश्वभर हरेक वर्ष अगस्ट १ देखि अगस्ट ७ सम्म यो सप्ताह मनाइन्छ । स्तनपानलाई शिशु स्वास्थ्य, मातृ स्वास्थ्य र राष्ट्रिय उत्पादकत्वसँग जोड्ने उद्देश्यले सन् १९९२ देखि यो सप्ताह मनाउन थालिएको हो ।

स्तनपान शिशुलाई दिइने पहिलो खोप मानिन्छ । यो कुपोषण र शिशु मृत्युदर रोक्न प्रभावकारी उपाय भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

विभिन्न अध्ययनहरूका अनुसार जन्मपछिको १ घण्टाभित्र स्तनपान गराउँदा नवजात मृत्यु २२ प्रतिशतसम्म घट्छ भने १ दिन ढिला गर्दा मृत्युदर २ दशमलव ४ प्रतिशतले बढ्छ ।

६ महिनासम्म केवल आमाको दूध खुवाइएमा र त्यसपछि उचित आहार दिइएमा २० प्रतिशत बाल मृत्युदर घटाउन सकिने डाक्टरको सुझाव छ ।

स्तनपान नगर्दा बालबालिकामा झाडापखाला, श्वासप्रश्वास र मोटोपनजस्ता समस्या देखा पर्न सक्छ । आमामा स्तन तथा अण्डाशयको क्यान्सर, टाइप टु मधुमेह र ज्यान जानेसम्मको जोखिम बढ्छ ।

प्रत्येक १ चम्चा स्तनदूधमा ३० लाख जीवाणु नष्ट गर्ने कोशिकाहरू हुन्छन् जबकि कृत्रिम फर्मुला दूधमा यस्तो एक पनि नहुने अध्ययनले देखाउँछ ।

आमाको दूध सुरक्षा र विकासका लागि आवश्यक प्राकृतिक तत्त्वहरूले भरिपूर्ण भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार बोतलबाट दूध खुवाउनेको सङ्ख्या १३ प्रतिशतबाट बढेर २२ प्रतिशत पुगेको छ । यो नवजात शिशुको स्वास्थ्यका लागि राम्रो मानिँदैन ।

महिलाहरूको शारीरिक बनावट बिग्रने डर, कृत्रिम दूधको सजिलो उपलब्धता, ६ महिनासम्म आमाको दूधले मात्र पुग्दैन भन्ने भ्रामक धारणा, देखासिकी प्रवृत्ति आदि कारणले पछिल्लो समय बोतलबाट दूध खुवाउनेहरूको सङ्ख्या बढ्दै गएको हो । यस कारण नेपालमा स्तनपानको दर घट्दो क्रममा छ ।

सम्बन्धित खबर