
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जनप्रतिनिधिहरुलाई लक्षित गरी लैंगिक तथा घरेलु हिंसामा कानुनी व्यवस्था सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएको छ।
शिवसताक्षी ८, झिलझिलेस्थित वाटर किङडम पार्कमा बिहीबारबाट सुरु भएको तालिमको उद्घाटन नगरप्रमुख मेगाहाङ्ग थोप्राले गर्नुभएको हो ।
महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था महिला सचेतना सशक्तिकरण नेपाल, काठमाडौंको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
तालिम उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले यस्ता तालिमहरुले जनप्रतिनिधिहरुलाई कानुनी जानकारी प्राप्त गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
“कतिपय अवस्थामा न्याय सम्बन्धी निर्णय गर्न कानुनी अप्ठ्यारा आउँछन्। यस्तो तालिमले जनप्रतिनिधिहरुको कार्यक्षमता बढाउँछ” नगरप्रमुख थोप्राको भनाई छ ।
कार्यक्रमकै अवसरमा संस्थाको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने कृष्णप्रसाद हुमागाई र सुनिता हुमागाईलाई सम्मान गरिएको छ।
उहाँहरुलाई नगरप्रमुख थोप्रा, उपप्रमुख नरमाया कार्की, संस्थाका अध्यक्ष गोमा भुसाल लगायतले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभयो ।
संस्थाका अध्यक्ष गोमा भुषालले दुई हुमागाई परिवारले एक–एक कठ्ठा प्रदान गरी दुई कठ्ठा जग्गा प्रदान संस्थालाई निःशुल्क प्रदान गरेको जानकारी दिनुभयो । उक्त जमिनको मूल्य करिब २० लाख रुपैयाँ पर्ने जनाइएको छ ।
तीन दिने तालिममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौला र अधिवक्ता लेखनाथ निरौलाले सहजीकरण गर्ने कार्यतालिका रहेको छ ।
कार्यक्रममा उपप्रमुख कार्की, वडाध्यक्ष भाष्कर न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार तिरुपति परियारले तालिमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । संस्थाका संस्थापक सदस्य निरु चौहानले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन तारा सिग्देलले गर्नुभएको थियो ।