२०८२ साउन १५, बिहिवार , ११:०२:३० बजे

Sajhamanch
'

आज साउन १५, खिर खाने साँस्कृतिक पर्व मनाइँदै

बिहिवार, साउन १५, २०८२

झापा । हरेक वर्ष साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाउने गरिन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसला लगायत पौष्टिक वस्तुहरु हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले २०७७ सालमा एक बैठकमार्फत साउन १५ लाई ‘खिर खाने दिन’ अर्थात् ‘खिर दिवस’का रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने दुग्ध विकास बोर्डले जनाएको छ ।

संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउनु हुन्छ ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैंसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाई छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

सम्बन्धित खबर