२०८२ साउन १४, बुधवार , ०५:४८:२९ बजे

Sajhamanch
'

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

बुधवार, साउन १४, २०८२

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनु भएको छ।

प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहनु भएका बहादुरसिंह लामा तामाङलाई पराजित गर्नु भएको हो। बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सक्नुभयो । १ मत बदर भएको छ । १३ साउन मंगलबार आफू विरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उहाँले दल नेताको हैसियत गुमाउनु भएको थियो। अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो ।

लामाले दलको नेताको हैसियत गुमाएपछि आज बुधवार दलको नेता चयनका लागि निर्वाचन भएको हो । बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले ९ साउनमा दल कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।

बानियाँ र लामा संसदीय दलको नेतामा दोस्रो पटक भिडनु भएको हो । प्रदेश सभाको दोस्रो कार्यकालमा पहिलो पटक १३ पुस २०७९ मा संसदीय दलको निर्वाचन हारेका बानियाँले साढे २ वर्षमै नतिजा उल्ट्याउनु भयो ।

लामा र बानियाँ दोस्रो पटक दलको नेताका लागि निर्वाचन लडनु भएको हो । ४ मंसिर २०७९ मा भएको प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित हुनु भएको थियो। लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाउनु भएको थियो ।

सम्बन्धित खबर