२०८२ साउन १४, बुधवार , ०६:१७:४४ बजे

Sajhamanch
'

अस्ट्रेलियामा १६ वर्षमुनिकाले युट्युब चलाउन नपाउने

बुधवार, साउन १४, २०८२

झापा । अस्ट्रेलियामा १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब पनि प्रतिबन्ध हुने भएको छ ।

अस्ट्रेलियाली सरकारले किशोरकिशोरीहरूका लागि अब युट्युबलाई पनि सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा समावेश गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

शिक्षक र विद्यार्थीहरूमाझ निकै लोकप्रिय भएकोले अस्ट्रेलिया सरकारले पहिले युट्युबलाई प्रतिबन्धबाट छुट दिएको थियो ।

अस्ट्रेलियामा किशोरकिशोरीहरूका लागि प्रतिबन्ध लाग्ने अन्य सामाजिक सञ्जालहरूमा टिकटक, इन्स्टाग्राम, फेसबुक, एक्स र स्न्यापच्याट छन् । सरकारका अनुसार ३७ प्रतिशत किशोरकिशोरीहरूले युट्युबमा हानिकारक सामग्री हेर्ने गरेका कारण यो कदम चालिएको हो ।

प्रतिबन्ध अन्तर्गत किशोरकिशोरीहरूले अझै पनि युट्युब भिडियोहरू हेर्न सक्षम हुनेछन् तर सामग्री अपलोड गर्न र प्लेटफर्ममा अन्तरक्रिया गर्न खाता खोल्न अनुमति पाउने छैनन् ।

गूगलको स्वामित्वमा रहेको युट्युबले भने युवा अस्ट्रेलियालीहरूलाई फाइदा र मूल्य प्रदान गर्ने प्लेटफर्म भएकोले यसलाई बालबालिकाका लागि प्रतिबन्ध लगाउन नहुने भन्ने तर्क गरेको थियो । यस्तै युट्युबले आफूलाई सामाजिक सञ्जाल नभएको बताएको छ ।

अस्ट्रेलियाको कानूनलाई विश्व नेताहरूले ठूलो चासोका साथ हेरिरहेका छन्, नर्वेले यस्तै प्रतिबन्धको घोषणा गरेको छ र बेलायतले पनि त्यसैलाई पछ्याउने विचार गरिरहेको बताएको छ ।

अस्ट्रेलियाली सरकारको यो निर्णयपछि युट्युब र यसको मातृ कम्पनी अल्फाबेटबीच नयाँ द्वन्द्व शुरू हुन सक्ने खबरमा उल्लेख छ । यो प्रतिबन्ध आउँदो डिसेम्बरदेखि लागू हुनेछ ।

यदि सामाजिक सञ्जाल कम्पनीहरूले निर्धारित मापदण्डहरू पालना नगरे उनीहरूले ४ करोड ९५ लाख अस्ट्रेलियाली डलरसम्म जरिवाना तिर्नुपर्ने हुन सक्ने सरकारले बताएको छ ।

सम्बन्धित खबर