
झपा । रुसको पूर्वी क्षेत्रमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र (यूएसजीएस) का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट झन्डै १३६ किलोमिटर टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा बिहान गएको हो । यो शक्तिशाली भूकम्पपछि परकम्प गैरहने अवस्था छ ।
रुसी समाचार संस्था तासले भूकम्पमा परी थुप्रै व्यक्ति घाइते भएका जनाएको छ । ठूलो भूकम्पपछि रुस, जापान र अमेरिकाको अलास्का क्षेत्रमा सुनामीको जोखिम छ । ती क्षेत्रमा सतर्कता अपनाउन र नागरिकलाई तत्काल सुरक्षित ठाउँमा जान आग्रह गरिएको बीबीसीले जनाएको छ ।
जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनी ९टीईपीसी० ले फुकुशिमा दाइची र फुकुशिमा दाइनी आणविक प्लान्टका कामदारलाई सुरक्षित निकालेर सुरक्षित ठाउँमा लगेको छ ।
अमेरिकी अधिकारीले अलास्का र हवाई क्षेत्रमा सुनामी आउने चेतावनी दिएका छन् । सुनामी शृङ्खलाबद्ध शक्तिशाली छाल हो । यसले व्यापक क्षति गर्न सक्छ ।
आज भूकम्प गएको रुसको क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको छ । विगत १० दिनमा त्यही क्षेत्रमा एकपछि अर्को भूकम्प गएको थियो । जुलाई २० तारिखमा मात्रै पाँच वटा भूकम्प गएको तथ्याङ्क छ ।