
झापा । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री स्टार्मरले युद्धविराममा सहमति, मानवीय सहायता आपूर्तिको प्रतिबद्धतालगायतका शर्तहरू अघि सार्नुभएको बीबीसीले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बेलायतको यस्तो कदमले हमासको आतङ्कलाई बढवा दिने प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ ।
गाजामा मानवीय अवस्थाको सुधार र दुई–देशबीचको समस्या समाधानको सम्भावना समाप्त हुँदै गएकाले अहिले नै योजना सार्वजनिक गरेको बेलायतको भनाइ छ ।
हमासले पनि बन्धकहरू तुरुन्त मुक्त गर्न, युद्धविराममा सहमति जनाउन, हातहतियार त्याग्न र गाजाको शासनमा भाग नलिनुपर्ने बेलायतको भनाइ छ ।
फ्रान्सले पनि गएको हप्ता सेप्टेम्बरमै प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरिसकेको छ । अहिलेसम्म विश्वका १३९ देशले प्यालेस्टाइनलाई औपचारिक मान्यता दिइसकेका छन् ।
यसैबीचसंयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा भइरहेको भोकमरी र मानवीय सङ्कट अत्यन्तै गम्भीर बन्दै गएको जनाएको छ ।
खाद्य सुरक्षा मूल्याङ्कन निकाय (आईपीसी) ले गाजाको धेरैजसो क्षेत्रमा भोकमरीको अवस्था गम्भीर तह पार गरिसकेको जनाएको एएफपीले जनाएको छ ।
यदि तुरुन्तै राहत सामग्री सहज रूपमा गाजामा प्रवेश गर्न नदिए स्थिति झनै डरलाग्दो हुने संयुक्त राष्ट्रसङ्घले चेतावनी समेत दिएको छ ।