२०८२ साउन १३, मङ्गलवार , ११:३९:१९ बजे

Sajhamanch
'

आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई उत्तर कोरियाको चेतावनी

मङ्गलवार, साउन १३, २०८२

झापा । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई चेतावनी दिनुभएको छ ।

ह्वाइट हाउसका एक अधिकारीले किम जोङ उनसँग वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प खुला रहेको बताएपछि उत्तर कोरियाका नेताकी शक्तिशाली बहिनीले अमेरिकालाई आणविक निःशस्त्रीकरणको विरुद्धमा चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

उहाँले उत्तर कोरियालाई आणविक हतियार राष्ट्रका रूपमा अस्वीकार गर्ने कुनै पनि प्रयासलाई पूर्णरूपमा नमान्ने बताउनुभएको राज्य सञ्चारमाध्यमले प्रकाशित गरेको वक्तव्यमा उल्लेख छ ।

किमले आफ्ना दाइ र ट्रम्पबीचको ‘व्यक्तिगत सम्बन्ध’ ‘नराम्रो नभएको’ बताउनुभयो तर भविष्यको कुनै पनि वार्तामा ‘आणविक निःशस्त्रीकरणको उद्देश्य पूरा गर्न’ प्रयोग नगर्न उहाँले चेतावनी दिनुभयो । यस्तै उहाँले आणविक निःशस्त्रीकरणको उद्देश्यले गरिने वार्तालाई ‘उपहास’ को रूपमा व्याख्या गरिने बताउनुभएको छ ।

उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी सम्झौतामा पुग्नका लागि अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा ट्रम्प र उत्तर कोरियाली नेताबीच तीन पटक भेट भएको थियो ।

तर सन् २०१९ मा भियतनामको राजधानी हनोईमा भएको दोस्रो शिखर सम्मेलनमा उत्तर कोरियाले यसको बदलामा के पाउने भन्ने कुरामा सहमति हुन नसकेपछि यसले आफ्नो आणविक कार्यक्रमलाई गति दिएको छ ।

ट्रम्पले उत्तर कोरियाली नेतासँग आफ्नो ‘उत्कृष्ट सम्बन्ध’ बारे कुरा गर्नुभएको र प्योङयाङमा तेस्रो पुस्ताका शासकसँग पुनः वार्ता गर्न खोज्ने सङ्केत गर्नुभएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर