
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव माथि आज मंगलबार प्रक्रिया अगाडि बढ्ने भएको छ ।
कांग्रेस संसदीय दलका सचिवसमेत रहेका सांसद कृष्ण तामाङले १० बजेबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभएको हो ।
साउन ९ गते हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको दलको कार्यालयमा २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न अनुरोध पनि गरिएको छ ।
हिजो सोमबार राति ९ बजे मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँ पक्षबीच आज १० बजेबाट अविश्वास प्रस्तावलाई प्रक्रियामा अगाडि बढाउने सहमति भएको थियो । सोमबार दिनभर भएको छलफलमा बानियाँ पक्षले यसलाई तत्कालै टुंग्याउनुपर्ने अडान लिएको थियो ।
मुख्यमन्त्री लामा पक्षले भने दक्षिण कोरिया भ्रमणबाट आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्ले सोमबार राति स्वदेश फर्किने भएको लगायतका कारण देखाएर अविश्वास प्रस्ताव माथिको प्रक्रियालाई पछाडि धकेल्न खोजेको थियो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र अघि बढेको आन्तरिक प्रक्रियालाई सहमतिमा टुंग्याउने प्रयास भइरहेको सांसद बानियाँले बताउनु भएको छ ।
पार्टी केन्द्रबाट खटिएका प्रतिनिधि केन्द्रीय सदस्य राजन केसी र प्रदेशका सांसदहरुबीच आन्तरिक प्रक्रियालाई निश्कर्षमा पुर्याउन सोमबार दिनभर संवादबाट समस्या समाधान गर्न सकिने विश्वासका साथ प्रयास गरिएको उहाँको भनाइ थियो ।
पूर्व कानुनमन्त्री तथा सांसद सुरजचन्द्र लामिछानेले १० बजे अघिसम्म सहमतिको प्रयास खोजिने र सहमति हुन नसके अविश्वास प्रस्तावलाई मत विभाजनबाट आज नै टुंगो लगाइने सहमति दुवै पक्षबीच भएको बताउनु भयो ।
संसदीय दलको कार्यालयले १० बजेपछि अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सनाखतको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । अविश्वास प्रस्तावको मत विभाजनबाट दलमा अल्पमत परेमा लामालाई मुख्यमन्त्री छोड्नुपर्ने नैतिक दबाब पर्नेछ । मत विभाजनबाट बहुमत सांसदलाई पुनः आफ्नो पक्षमा पार्न सकेमा उहाँ दलको नेता नै कायम रहनु हुनेछ ।
प्रदेशसभामा कांग्रेसको ३७ सांसद छन् । दलको नेता हुन १९ जना सांसदको समर्थन भए पुग्छ ।
तत्कालीन मन्त्रीहरु सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी, मदुकुमार श्रेष्ठले राजीनामा दिएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री लामा संकटमा पर्नुभएको थियो ।
उहाँहरुको राजीनामा माथि कुनै कारबाही नगरी मुख्यमन्त्री लामाले सोही दिन साँझ पदमुक्त गरेको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएको बताइएको छ ।
बागमतीको विवाद समाधानका लागि पार्टीको जिम्मेवारी लिएका केन्द्रीय सदस्य राजन केसी आइतबार नै हेटौंडा पुगेर परामर्श थाल्नु भए पनि मुख्यमन्त्री लामा भने काठमाडौंबाट सोमबार मात्रै हेटौंडा पुग्नु भएको थियो ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहनु भएका बानियाँ लामालाई हटाएर आफू मुख्यमन्त्री बन्ने कसरतमा हुनुहुन्छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने विधानतः व्यवस्थाले लामा माथि अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
बानियाँ र लामा दलको नेता बन्न १३ पुस २०७९ मा संसदीय दलको निर्वाचन लडेकोमा लामासँग बानियाँ ५ मतले पराजित हुनुभएको थियो । लामाले २१ मत ल्याउँदा बानियाँले १६ सांसदको मात्रै समर्थन पाएको इतिहास छ ।
प्रदेशसभाको पहिलो कार्यकाल (२०७४–७९)मा पूरा पाँच वर्ष बानियाँ दलको नेता रहनु भए पनि सो कार्यकालमा उहाँ मुख्यमन्त्री बन्न सक्नु भएन ।