
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । युवराज सफलले अख्तियार प्रमुख राईमाथि छानबिनको माग गर्दै आज उजुरी दर्ता गराउनुभएको हो ।
युवराज सफलले अख्तियार प्रमुख प्रेमकुमार राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भूटानी शरणार्थी प्रकरण लगायतमा मुछिएका भन्दै आवश्यक छानबिन गर्न माग गर्नुभएको छ ।
विशेष अदालतले केही दिनअघि अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै अख्तियार प्रमुख प्रेम राईकै भूमिकामाथि प्रश्न उठाएको थियो । अख्तियारले ‘चयनमुखी अभियोजन’ गरेको भन्दै अदालतले राईमाथि प्रश्न उठाएको हो ।
अख्तियारले २०८० साल चैत २२ गते एक अर्ब ४७ करोड १० लाख ८५ हजार ८४२ रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
२०७३ साल वैशाख २ गते तत्कालीन सचिव प्रेमकुमार राईको अध्यक्षतामा निगमनको सञ्चालक समिति बैठक बसेको थियो । त्यस बैठकले निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद गर्न उपसमिति गठन गर्ने निर्णय गरेको थियो । तर अख्तियारले दायर गरेको आरोपपत्रमा भने त्यस निर्णयबारे कुनै विवाद नगरेको अदालतको टिप्पणी छ ।
विशेष अदालतको टिप्पणीले राईमाथि राजीनामाको दबाव बढिरहेका बेला अख्तियारमै मुद्दा दर्ता भएको हो ।