२०८२ साउन ९, शुक्रवार , १०:५०:०४ बजे

Sajhamanch
'

गाजा युद्धविराम वार्ताबाट अमेरिका र इजरायल पछि हटे

शुक्रवार, साउन ९, २०८२

झापा । कतारको राजधानी दोहामा गाजा युद्धविरामका लागि चलिरहेको बहुपक्षीय वार्ता अचानक सङ्कटमा परेको छ ।

अमेरिका र इजरायलले हमासको पछिल्लो प्रस्तावप्रति असन्तुष्टि जनाउँदै आफ्ना वार्ता टोलीहरू फिर्ता बोलाएका अल जजिराले जनाएको छ ।

अमेरिकी विशेष दूत स्टिभ विटकफले हिजो विज्ञप्ति निकालेर हमासले युद्धविराममा पुग्ने चाहना नै नदेखाएको आरोप लगाउँदै वार्ता छोट्याइएको घोषणा गर्नुभएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले समेत इजरायली वार्ता टोली फिर्ता बोलाइएको पुष्टि गरेको खबरमा उल्लेख छ ।

यता हमासले अमेरिकी आरोपप्रति आश्चर्य व्यक्त गर्दै आफू वार्ता जारी राख्न र स्थायी युद्धविरामतर्फ अघि बढ्न प्रतिबद्ध रहेको बताएको छ ।

हिजो नै हमासले कतार, इजिप्ट र अमेरिकाले तयार पारेको नयाँ युद्धविराम प्रस्तावमा आधिकारिक जवाफ दिएको थियो । यद्यपि, प्रस्तावको विवरण सार्वजनिक गरिएको छैन ।

अहिले छलफलमा रहेको प्रस्तावमा ६० दिने युद्धविराम अवधि, हमासद्वारा १० जीवित र १८ मृतक इजरायली बन्दीहरूको हस्तान्तरण, इजरायलद्वारा प्यालेस्टिनी बन्दीहरूको रिहाइ, र गाजामा मानवीय सहायता आपूर्तिको विस्तारको प्रावधान रहेको बताइएको छ । तर युद्धविरामपछि गाजाको राजनीतिक तथा सुरक्षा व्यवस्थाबारे गहिरो असहमति देखिएको छ ।

इजरायलले युद्धपछि गाजामा दीर्घकालीन सैन्य उपस्थिति राख्ने र हमासको पूर्ण अन्त्य गर्ने लक्ष्य राखेको बुझिएको छ ।

केही दिनअघि इजरायली रक्षा मन्त्री इजरायल काट्जले गाजामा एउटा मानवीय शहर निर्माण गरी प्यालेस्टिनीहरूको जबरजस्ती स्थानान्तरणको योजना अघि सार्नुभएको थियो । त्यसलाई अन्तर्राष्ट्रिय कानून विपरीतको कदम भन्दै व्यापक आलोचना भएको छ ।

युद्धका कारण गाजामा गम्भीर मानवीय सङ्कट उत्पन्न भएको छ । हमासको आक्रमणपछि शुरू भएको इजरायली कारबाहीमा अहिलेसम्म करिब ६० हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ ।

सम्बन्धित खबर