२०८२ साउन ९, शुक्रवार , १०:३१:५१ बजे

Sajhamanch
'

कोशीमा खडेरीको मार : २१ प्रतिशतले घट्यो रोपाइँ

शुक्रवार, साउन ९, २०८२

विराटनगर । यस वर्ष मनसुनले धोका दिँदा कोशी प्रदेशका अधिकांश जिल्लाहरूमा धान रोपाइँ प्रभावित भएको छ ।

आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि पर्याप्त वर्षा नहुनु प्रमुख चुनौती बनेको छ । जसका कारण प्रदेशभरिको रोपाइँ गत वर्षको तुलनामा २१ प्रतिशतले घटेको छ ।

कृषि विकास निर्देशनालय कोशी प्रदेशले साउन ४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशमा हालसम्म जम्मा ६१ दशमलव ७९ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही समयमा ८२ दशमलव ६८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।

निर्देशनालयको प्रतिवेदनमा उल्लेख गरिएको कैफियतमा रोपाइँ घट्नुको मुख्य कारण ‘पानी कम परेर’ उल्लेख छ । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ, सङ्खुवासभा, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा, झापा र सुनसरी लगायतका अधिकांश जिल्लामा रोपाइँ कम हुनुको कारण ‘पानी कम परेर’ उल्लेख छ ।

तराईका धान उत्पादनका मुख्य पकेट क्षेत्र मानिने झापा, मोरङ र सुनसरीमा समेत पर्याप्त वर्षा नहुँदा खेतहरू बाँझै छन् । मोरङमा जम्मा ५० प्रतिशत र झापामा ६८ दशमलव ६० प्रतिशत मात्र रोपाइँ भएको छ । जुन चिन्ताजनक अवस्था हो ।

समयमा पानी परेका जिल्लाहरूमा भने रोपाइँको अवस्था उत्कृष्ट छ । सोलुखुम्बुमा ८४ दशमलव ३१ प्रतिशत र खोटाङमा ८१ दशमलव ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यी जिल्लाहरूमा समयमा वर्षा भएकाले रोपाइँ सन्तोषजनक रहेको निर्देशनालयले जनाएको छ ।

उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा औसत ५० दशमलव ४२ प्रतिशत मात्र रोपाइँ भएको छ । ताप्लेजुङमा प्रदेशकै सबैभन्दा कम ४३ दशमलव ७३ प्रतिशत मात्रै रोपाइँ भएको छ । मध्य पहाडमा ६४ दशमलव ५५ प्रतिशत र तराईमा ६१ दशमलव ७३ प्रतिशत रोपाइँ भएको छ ।

तथ्याङ्क अनुसार प्रदेशमा कुल २ लाख ७६ हजार ३८६ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ लाख ७० हजार ७९० हेक्टरमा मात्र रोपाइँ भएको छ । अबका केही दिनभित्र मनसुन सक्रिय भई पर्याप्त वर्षा नभएमा प्रदेशको खाद्य सुरक्षा र कृषि अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने निर्देशनालयका प्रमुख प्रकाश डाँगीले बताउनु भयो ।

2082-04-04 गते सम्म कोशी प्रदेशको धान रोपाई विवरण_page-0001

सम्बन्धित खबर