
झापा । तीन वर्षको वार्तापछि भारत र बेलायतबीच बहुप्रतिक्षित मुक्त व्यापार सम्झौता (एफटीए) सम्पन्न भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किएर स्टार्मरको उपस्थितिमा यो महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको बीबीसी हिन्दीले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी अहिले बेलायतको भ्रमणमा हुनुहुन्छ । उहाँको यो प्रधानमन्त्रीको रूपमा बेलायतको चौथो भ्रमण हो ।
प्रधानमन्त्री मोदीले यो सम्झौतालाई ‘साझा समृद्धिको योजना’ बताउँदै भारतीय वस्त्र, जुत्ता, गहना, समुद्री खाना, इञ्जिनियरिङ्ग र प्रशोधित कृषि वस्तुहरू बेलायती बजारमा अब अझ सजिलै पुग्ने बताउनुभयो । उहाँका अनुसार, यसले भारतका किसान, माछा पालन व्यवसायी तथा साना उद्योगहरूलाई विशेष लाभ दिनेछ ।
बेलायतबाट भारतमा आउने वस्तुहरूमध्ये ह्विस्की, चकलेट, बिस्कुट, मासु, कार, एअरोस्पेस उपकरण, मेडिकल डिभाइसहरूमा अब कर घट्नेछ, त्यसले ती सामान भारतीय बजारमा सस्ता हुने अपेक्षा गरिएको छ ।
बेलायती सरकारले यो सम्झौताबाट आफ्ना अर्थतन्त्रमा वार्षिक ४ दशमलव ८ अर्ब पाउन्डको योगदान हुने बताएको छ ।
भारतले सन् २०३० सम्म १ ट्रिलियन डलर बराबरको निर्यात गर्ने लक्ष्य राखेको सन्दर्भमा बेलायतलाई शीर्ष प्राथमिकतामा राखेको छ ।
यो बेलायतको ब्रेक्जिटपछि कुनै पनि देशसँग भएको सबैभन्दा ठूलो व्यापारिक सम्झौता हो । यद्यपि बेलायतमा केही विपक्षी नेताहरूले भारतीय श्रमिकलाई राष्ट्रिय बीमा अंशदानमा दिइएको छुटका कारण बेलायती कामदारहरू प्रभावित हुने चेतावनी दिएका छन् । तर व्यापार मन्त्रालयले यो चिन्ता खारेज गरेको खबरमा उल्लेख छ ।
सम्झौताको कार्यान्वयनसँगै भारत–बेलायतबीचको व्यापार थप तीव्र हुने विश्वास गरिएको छ, यो दुवै देशको आर्थिक हितका लागि ऐतिहासिक अवसर बन्ने अनुमान गरिएको छ ।