
विराटनगर । कोशी प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती शुरू गरिएको छ । दुई हजार हेक्टरभन्दा जमिनमा कफीखेती विस्तार भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा व्यावसायिक रुपमा कफीखेती भइरहेको छ । पाँच हजारभन्दा बढी किसानले कफीखेती गरिरहेको उहाँले बताउनुभयो ।
अहिले कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ । यसको बजार मूल्य लगभग २० करोड रुपैयाँ हुन्छ ।
नेपालमा ५०० मेट्रिक टन कफी उत्पादन हुँदै आएकोमा कोशी प्रदेशको मात्रै २० प्रतिशत योगदान छ । कोशीमा सबैभन्दा बढी कफी उत्पादन इलाममा हुने गर्छ । इलामका २ हजार बढी किसानले ९ सय हेक्टरमा कफीखेती गर्दै आएका छन् ।
धनकुटा, मोरङ, पाँचथरलगायतका जिल्लामा ठूलो मात्रामा कफीखेती विस्तार गरिएको छ । बोर्डको तथ्याङ्कअनुसार धनकुटामा ७५०, मोरङमा ५ सय र पाँचथरमा ३५० हेक्टरमा कफीखेती विस्तार गरिएको छ ।