
झापा । अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई २०० मिलियन अमेरिकी डलर तिर्न सहमत भएको छ । आफ्ना यहूदी विद्यार्थीहरूलाई सुरक्षा दिन असफल भएका कारण विश्वविद्यालयले यो रकम तिर्न बाध्य भएको बीबीसीले जनाएको छ ।
सम्झौता रकम तीन वर्षमा सङ्घीय सरकारलाई भुक्तानी गरिने विश्वविद्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा यसबारेमा पुष्टि गर्नुभएको छ ।
यसको बदलामा सरकारले मार्चमा रोकेको वा समाप्त गरेको ४०० मिलियन डलर अनुदानको केही भाग फिर्ता गर्न सहमत भएको खबरमा उल्लेख छ ।
गएको वर्ष न्युयोर्क क्याम्पसमा भएको विरोध प्रदर्शनका क्रममा यहूदी विरोधी घटनाहरू रोक्न असफल भएकोमा ट्रम्प प्रशासनले लक्षित गरेको पहिलो विश्वविद्यालयका यो थियो । यद्यपि गएको मार्चमा कोलम्बिया विश्वविद्यालयले पहिले नै ह्वाइट हाउसका केही शर्तहरूमा सहमति जनाएको थियो ।