
झापा । गाजामा इजरायलले गरिरहेको आक्रमणविरुद्ध दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालयमा दायर गरेको मुद्दामा ब्राजिलले पनि हस्तक्षेप गर्ने घोषणा गरेको छ ।
यस कदमलाई गैर–पश्चिमी देशहरूले इजरायलमाथि अन्तर्राष्ट्रिय दबाव बढाउन थालेको सङ्केतका रूपमा हेरिएको अल जजिराले जनाएको छ ।
हिजो ब्राजिलको विदेश मन्त्रालयले दिएको वक्तव्य अनुसार यो मुद्दामा ब्राजिलले आफ्नो औपचारिक हस्तक्षेप प्रस्ताव तयार पार्ने अन्तिम चरणमा पुगेको खबरमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय समुदायले गाजामा भइरहेको अत्याचारहरूका बारेमा चुप बस्न नमिल्ने वक्तव्यमा भनिएको छ ।
ब्राजिलले दिएको यो अभिव्यक्ति दक्षिण अफ्रिकाले इजरायलविरुद्ध दायर गरेको मुद्दामा पछिल्लोपटक देखिएको सबैभन्दा कडा समर्थन हो ।
ब्राजिलको निर्णय गाजामा भइरहेको इजरायली नाकाबन्दी, मानवीय सहायता रोकावट, र सम्भावित अकालको स्थितिप्रति चासोका कारण आएको हो ।
ब्राजिलले गाजा मात्र नभई वेस्ट बैंकमा पनि प्यालेस्टिनी नागरिकहरूमाथि हिंसात्मक घटनाहरू दोहोरिइरहेकोमा गहिरो चिन्ता व्यक्त गरेको छ ।
यसैबीच, गाजामा इजरायली नीतिका कारण खाद्यान्न सङ्कट भयावह बन्दै गएको, डाक्टरहरुसमेत भोकै बस्न बाध्य भएको र मानवीय सहायता वितरणमा अवरोध पुर्याइएको रिपोर्टहरू अन्तर्राष्ट्रिय संस्थाहरूले सार्वजनिक गरिरहेका छन् ।
यस मुद्दामा ब्राजिलको साथले अन्तर्राष्ट्रिय न्यायालयमा इजरायलमाथिको मुद्दा थप सशक्त बन्ने अपेक्षा गरिएको खबरमा उल्लेख छ ।