
झापा । युरोपेली सङ्घ (ईयू) र अमेरिकाबीच व्यापार वार्ताको समाधानको नयाँ प्रयास शुरू भएको छ । हिजो ईयूका प्रमुख व्यापार प्रतिनिधि मारोस सेफ्कोभिकले अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकसँग टेलिफोन संवाद गर्ने तय भएसँगै व्यापार वार्ताको नयाँ चरण शुरु भएको समाचार संस्था एएफपीले जनाएको छ ।
यसलाई युरोपेली सङ्घ र अमेरिकाबीच व्यापार वार्ता समाधानको प्रयासका रुपमा लिइएको छ । यो उच्चस्तरीय संवादलाई निकै संवेदनशील र महत्त्वपूर्ण मानिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ भित्र कुनै व्यापार सम्झौता हुन नसकेमा युरोपेली सङ्घका वस्तुहरूमा ३० प्रतिशतसम्म भन्सार शुल्क लगाउने सम्भावना रहेको सङ्केत यसअघि नै गरिसक्नु भएको छ ।
यस्तो अवस्थामा युरोपेली संघले पनि आफ्ना आर्थिक हितलाई सुरक्षित राख्न सक्ने विकल्पहरूको तयारी भइरहेको खबरमा उल्लेख छ ।
युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले आफूहरुको प्राथमिक उद्देश्य आपसी समझदारीमा आधारित समाधान निकाल्नुरहेको बताउनु भएको छ ।
त्यसैअनुसार अहिले प्राविधिक र राजनीतिक दुवै तहमा निरन्तर संवाद भइरहेको छ । अब हुने टेलिफोन संवादपछि युरोपेली आयोगले आफ्ना सदस्य राष्ट्रहरूलाई वार्ताको प्रगति र सम्भावित परिणामहरूको बारेमा जानकारी दिने योजना बनाएको छ ।
अहिले सम्म युरोपेली सङ्घले दुईवटा छुट्टाछुट्टै शुल्क प्रस्ताव तयार पारेको छ । पहिलो प्रस्तावमा करिब ७२ अर्ब युरो अर्थात ८४ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी वस्तुहरू समेटिएका छन् ।
दोस्रो प्रस्ताव भने अघिल्लो वर्ष राष्ट्रपति ट्रम्पले स्टिल इस्पात र एल्युमिनियममा लगाएको भन्सार शुल्कको प्रतिक्रिया स्वरूप बनाइएको हो । जसमा करिब २१ अर्ब युरो बराबरका वस्तुहरू समावेश छन् ।
अब यी दुवै प्रस्तावलाई समेटेर एउटै साझा सूची तयार गरिने तयारी गरिएको छ । जुन आवश्यक परे अगस्ट ७ देखि लागू गर्न सकिने खबरमा उल्लेख छ ।