
झापा । १०० भन्दा धेरै सहायता एजेन्सीहरूले प्यालेस्टिनको गाजामा व्यापक भोकमरी फैलिएको बताएका छन् । ‘सेभ द चिल्ड्रेन’ र ‘मेडेसिन्स सान्स फ्रन्टियर्स’ लगायत एक सयभन्दा धेरै सहायता एजेन्सीहरूले संयुक्त विज्ञप्ती निकालेर गाजामा सामूहिक भोकमरी भएको बताएका बीबीसीले जनाएको छ ।
इजरायलले गाजाभित्र खाना वितरण गर्न नदिएको उनीहरुको भनाइ छ । गाजामा औसतमा प्रतिदिन २८ ट्रक सहाता मात्र वितरण हुँदै आएको र यो २० लाखभन्दा धेरै मानिसहरूका लागि पर्याप्त नभएको सहायता एजेन्सीहरूले बताएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्ला दिनहरूमा कुपोषण र भोकका कारण ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको जनाएको छ । बीबीसीका अनुसार गाजामा बितेको तीन दिनमा कुपोषण र भोकका कारण २१ बालबालिकासहित ४२ जनाको ज्यान गएको छ ।
गाजामा कार्यरत डाक्टरहरूका अनुसार कुपोषणका कारण बिरामी भएका बच्चाहरूको सङ्ख्या निकै बढेको छ । आमाहरूले आफ्ना बच्चालाई स्तनपान गराउन आफूलाई नै पोषण नपुगेको र बच्चालाई खुवाउने धूलो दूधको अभाव भएको बताइरहेका छन् ।
सहायता समूहरूले बमबारी जारी राखेको इजरायलविरुद्ध कारबाहीको माग गर्दै जीवन बचाउने सहायतालाई अनुमति दिन आग्रहसमेत गरेका छन् ।