२०८२ साउन ७, बुधवार , ०३:३८:२० बजे

Sajhamanch
'

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४७ औं स्मृति दिवस

बुधवार, साउन ७, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम गरी उहाँको योगदानको सम्झना गर्दैछन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने वि.सं. २०३५ साउन ७ गते उपचारका क्रममा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उहाँको निधन भएको थियो ।

नागरिकको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ साल वैशाख १० मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

वि.सं.२०२५ मा पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ ।

पुष्पलालको स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ ।