२०८२ साउन ६, मङ्गलवार , ०४:५२:२९ बजे

Sajhamanch
'

गाजामा तत्काल युद्ध अन्त्य गर्न बेलायतसहित २७ देशको आह्वान

मङ्गलवार, साउन ६, २०८२

झापा । बेलायतसहित २७ वटा देशले गाजाका नागरिकहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै चलिरहेको युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन् ।

२७ वटा देशले संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरायलको तरिका खतरनाक रहेको, खानेकुरा र पानीको खोजिमा रहेकाहरूलाई थोरै थोरै गरेर सहायता वितरण गर्ने र नागरिकहरूको अमानवीय रूपमा हत्या गर्ने कार्य भइरहेको भन्दै त्यसको निन्दा गरेका बीबीसीले जनाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार सप्ताहन्तमा खानेकुराको पर्खाइमा रहेका बेला इजरायलले चलाएको गोली लागेर एक सय जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको र कुपोषणका कारण अन्य १९ जनाको ज्यान गएको छ ।

इजरायली विदेश मन्त्रालयले भने संयुक्त वक्तव्यलाई अस्वीकार गर्दै त्यो वास्तविकताबाट अलग रहेको र त्यसले हमासलाई गलत सन्देश दिएको जनाएको खबरमा उल्लेख छ ।

मन्त्रालयले सशस्त्र समूहमाथि नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौतामा सहमत हुनुको सट्टा झुट फैलाएको र सहायता वितरणलाई कमजोर बनाएको आरोप लगाएको छ ।

संयुक्त वक्तव्यमा बेलायतसहित अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्युजिल्यान्ड, स्विट्जरल्यान्डलगायत २७ देशका विदेशमन्त्रीहरूले हस्ताक्षर गरेका छन् ।