२०८२ साउन ६, मङ्गलवार , ०४:२४:०६ बजे

Sajhamanch
'

तीन महिनामा २३०० विपद्जन्य घटनामा १०२ जनाले ज्यान गुमाए

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । गएको वैशाख १ गतेदेखि हिजोसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपद्जन्य दुई हजार ३२६ घटनामा १०२ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद‍्मा परेर अझै २० जना हराइरहेका छन् । यसत् ५१२ जना घाइते भएका छन् भने चार हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवम् उपसचिव सुरेश सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुनी विपद‍्सहितका विभिन्न प्रकारका विपद्जन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो । बाढीका कारण मात्रै १५१ घटनामा १३ जनाको ज्यान गएको छ भने २० जना बेपत्ता भएका छन् ।

त्यसैगरी पहिरोका २०७ घटनामा नौ र ठूलो वर्षाका १०३ घटनामा दुई जनाको ज्यान गएको छ । चट्याङका २२९ घटनामा २८, सर्पदंशका ६३ घटनामा पाँच, आगलागीका ९७६ घटनामा १४ जनाको ज्यान गएको छ ।

यस्तै हुरीबतासका २७३ घटनामा आठ, जनावर आक्रमणका १२१ घटनामा १२, लेक लागेका ३६ घटनामा ११ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

डढेलोका १५८ वटा घटना, भूकम्पका चार, डुङ्गा पल्टिएका दुई, असिनापानीका दुई घटना भएको तर मानवीय क्षति नभएको पनि प्राधिकरणले जानकारी दिएको छ । ती घटनाबाट सबैभन्दा बढी बाढीले एक हजार २५४ घर प्रभावित बनाएको छ ।

यस्तै पहिरोले दुई ४१, ठूलो वर्षाले ५४७, चट्याङले २६४, सर्पदंशले ७० र आगलागीले एक हजार ८९ परिवारलाई प्रभावित बनाएको पनि प्राधिकरणले जनाएको छ ।

डढेलोबाट २७, हुरीबतासबाट ५३१, जनावरको आक्रमणबाट १८६, लेक लागेर ३२, डुङ्गा पल्टिएर पाँच, असिनापानी र हुरीबाट ७७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

सम्बन्धित खबर