२०८२ साउन ६, मङ्गलवार , ०२:२३:४९ बजे

Sajhamanch
'

बङ्गलादेशमा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो

मङ्गलवार, साउन ६, २०८२

झापा । बङ्गलादेशको राजधानी ढाकाको एक विद्यालयमा वायु सेनाको लडाकू विमान खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । दुर्घटनामा १७१ जना घाइते भएका छन् । यो बङ्गलादेशमा विगत केही वर्षको सबैभन्दा भीषण हवाई दुर्घटना हो ।

स्थानीय समय अनुसार हिजो १ बजेर १८ मिनेटमा ढाकाको उत्तर भागमा रहेको ‘माइलस्टोन स्कूल एण्ड कलेज’ को भवनमा बङ्गलादेश एअर फोर्सको सेभेन जेट विमान खसेको हो ।

सीएनएनका अनुसार यान्त्रिक गडबडीका कारण विमानले नियन्त्रण गुमाएको थियो । पाइलटले जनघनत्व कम भएको क्षेत्रतर्फ मोड्ने प्रयास गरे पनि विद्यालयमा खस्न पुगेको थियो ।

दुर्घटनाबारे विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका विशेष सहायक डा। सायेदुर रहमानका अनुसार ज्यान गुमाउनेमध्ये २५ जना बालबालिका छन् र अहिले ७८ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।

बङ्गलादेशको सरकारले देशभर शोक घोषणा गर्दै विशेष प्रार्थनाको कार्यक्रमको गरेको छ । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले यो राष्ट्रका लागि गहिरो पीडाको क्षण भएको भन्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर