२०८२ साउन ६, मङ्गलवार , ११:४०:३४ बजे

Sajhamanch
'

पूर्वानुमान कहिलेकाहीँ नमिल्न पनि सक्छ, तर मौसमी सूचनालाई गम्भीर रुपमा लिनुपर्छ

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । पानी पर्छ कि पर्दैन भन्ने कुरा माथिल्लो वायुमण्डलमा भइरहेका गतिविधिका आधारमा पूर्वानुमान गरिन्छ । तर त्यहाँको अवस्था कहिलेकाहीँ स्पष्ट नहुने भएकाले पूर्वानुमान कहिले मिल्छ कहिले नमिल्न सक्छ ।

त्यही वायुमण्डलीय गतिविधिको अध्ययनले कतिपय ठाउँको मौसम सटिक रूपमा अनुमान गर्न सकिन्छ भने कतिपय ठाउँमा त्यही आधार अपूरो हुन सक्छ । अहिलेको अवस्थासमेत त्यही हो ।

सटेलाइटबाट प्राप्त विभिन्न सूचनाका आधारमा मौसम पूर्वानुमान गरिन्छ । पूर्वानुमानमा थुप्रै सङ्केत (सूचक) प्रयोग गरिन्छ, जसमध्ये एउटा बादलको अवस्था पनि हो ।

बादल देखिएपछि त्यहाँ पानी पर्न सक्छ भन्ने अनुमान गरिन्छ । तर बादल देखिए पनि त्यो ठाउँमा वर्षा नहुन पनि सक्छ । त्यसैले पूर्वानुमान अनुमानमै आधारित हुने हुँदा कहिलेकाहीँ फरक पर्न सक्छ ।

मौसम पूर्वानुमान प्रणालीलाई कम विश्वसनीय भन्न मिल्दैन । तर जलवायु परिवर्तनका कारण मौसममा छिटो परिवर्तन हुने क्रम बढेको छ, जसले पूर्वानुमानलाई अझ चुनौतीपूर्ण बनाएको छ ।

विश्वसनीयता बढाउन थप मेहनत आवश्यक देखिन्छ । त्यसका लागि अवलोकन केन्द्रहरू विस्तार गर्नुका साथै मनसुन पूर्वानुमान प्रणालीलाई अझ सशक्त बनाउनु जरुरी छ । तर हाल मौसममा देखिएको अनिश्चितताले यो प्रक्रिया कठिन बनाएको छ ।

नेपालमा सामान्यतः मनसुन पूर्वबाट प्रवेश गरेर पश्चिमतर्फ फैलिने गर्छ । तर यसपालि त्यो ढाँचामा बदलाव देखियो । शुरूमा मनसुनले देशको पूर्वी भू–भागमा केही वर्षा गरायो, तर त्यसपछि पश्चिमतर्फ सर्नुपर्ने क्रममा रोकावट आयो, र केही समय वर्षा नै भएन ।

कहिलेकाहीँ यस्ता घटना अघिल्ला वर्षहरूमा पनि देखिएका छन, जहाँ मनसुन आइपुगे पनि स्थिर भएर रहेको वा सक्रिय हुन समय लागेको अवस्था देखिएको हो ।

मनसुन हरेक वर्ष एउटै ढाँचामा नहुन सक्छ । यो वर्ष पनि शुरुमा पूर्वी भागमा वर्षा भए पनि त्यसपछि अन्य क्षेत्रमा विस्तार हुन केही समय लाग्यो । अहिले पनि अपेक्षित रूपमा वर्षा भइरहेको छैन, जुन पूर्वानुमानसँग मेल खाँदैन ।

यो वर्ष मनसुन सक्रिय हुन बङ्गालको खाडीबाट पर्याप्त जलवाष्पयुक्त हावा नआउँदा अपेक्षित रूपमा वर्षा हुन सकेको छैन । यसले मनसुनी प्रक्रिया नै अनिश्चित देखिएको छ र पर्याप्त वर्षा नहुनुमा यही कारण मुख्य देखिन्छ ।

विशेषगरी पूर्वी तथा मधेश क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ । अहिलेसम्म अरब सागर र पश्चिमी वायुले प्रभाव पारेको छ, जसका कारण पश्चिमका केही भू–भागमा तुलनात्मक रूपमा बढी वर्षा भएको छ ।

यद्यपि, मनसुनमा जस्तोसुकै व्यापक र लगातार वर्षा हुनुपर्ने हो, त्यो हुन सकेको छैन । कतिपय ठाउँमा वर्षा भए पनि त्यसले समग्र मनसुनमा उल्लेख्य योगदान गर्न सकेको छैन । यस विषयमा थप अनुसन्धान आवश्यक छ ।

मौसम पूर्वानुमानको उद्देश्य नै समयमै जानकारी दिई जनधनको क्षति हुन नदिनु हो । त्यसैले मौसमसम्बन्धी सूचनालाई हरेकपटक गम्भीर रूपमा लिन जरुरी छ । हरेक सूचना तथ्यपरक हुन्छ र अवलोकनका आधारमा तयार गरिन्छ । एकरदुईवटा सूचना नमिलेको भन्दै सबै पूर्वानुमानप्रति अविश्वास गर्नु वा लापरबाही गर्नु हुँदैन । जनचेतनासाथ सतर्क रहनुपर्छ ।

धेरै समय खडेरी भइरहेकै अवस्थामा पनि अचानक बाढी आउने घटना भएका छन् । यस्तो परिस्थितिमा प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिनु अत्यन्त आवश्यक छ ।

सम्बन्धित खबर