२०८२ साउन ५, सोमवार , ०४:०६:२७ बजे

Sajhamanch
'

इजरायली सेनाले सहायताको पर्खाइमा रहेका ६७ जनाको हत्या गर्‍यो : हमासद्वारा सञ्चालित मन्त्रालय

सोमवार, साउन ५, २०८२

झापा । इजरायली सेनाले उत्तरी गाजामा संयुक्त राष्ट्रसङ्घको सहायता ट्रकहरूको पर्खाइमा रहेका कम्तीमा ६७ जनाको हत्या गरेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले आफ्ना २५ वटा ट्रकको लस्कर इजरायलबाट सीमा पार गरेर जाँचचौकीबाट अगाडि बढ्नासाथ भोका सर्वसाधारण मानिसहरूको भीडमाथि गोली प्रहार भएको बताएको बीबीसीले जनाएको छ । सहायता बोकेर आएको ट्रक देख्नासाथ सर्वसाधारणको ठूलो भीड जम्मा भएको थियो ।

इजरायली रक्षा बल (आईडीएफ) ले भने तत्कालको खतरा हटाउने उद्देश्यले चेतावनी दिन केही गोली चलाएको र ज्यान गुमाउनेको सङ्ख्या त्यति नभएको दाबी गरेको खबरमा उल्लेख छ ।

हिजो मन्त्रालयले गाजामा अत्यधिक भोकमरी बढिरहेको र अत्यधिक थकानका साथ आफ्ना केन्द्रहरूमा आइपुग्ने मानिसहरूको सङ्ख्या बढ्दै गएको बताएको थियो । मन्त्रालयले भोकमरीका कारण सयौं मानिसहरू मृत्युको जोखिममा रहेका चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घले पनि गाजामा सर्वसाधारण मानिसहरू भोकका कारण ज्यान गुमाउने अवस्थामा पुगेको भन्दै त्यहाँ तत्काल अत्यावश्यक सामान पठाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर