
झापा । दक्षिण कोरियामा केही दिनदेखि परेको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको ज्यान गएको छ ।
बाढी र पहिरोमा परेर अन्य १२ जना बेपत्ता भएका दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उद्धार कार्य चलिरहँदा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले आशङ्का गरेका छन् ।
मुसलधारे वर्षा शुरू भएदेखि झन्डै १० हजार जना मानिसले घर खाली गरेका र ४१ हजारभन्दा धेरै घरपरिवारमा अस्थायी रूपमा बिजुली अवरुद्ध भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
सबैभन्दा धेरै प्रभावित दक्षिणी र मध्य क्षेत्रहरूमा वर्षा अहिले निकै कम हुँदै गएको तर राजधानी सियोल र उत्तरी क्षेत्रहरूमा थप पानी पर्ने मौसमविद्ले बताएका छन् । बाढीका कारण सडकहरू क्षतिग्रस्त भएका छन् भने घरहरू डुबानमा परेका छन् ।