
काठमाडौं । हिजो बेलुकादेखि सक्रिय भएको प्रणालीले देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । गएराति र बिहान पूर्वी क्षेत्रमा वर्षा भएकोमा अहिले गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ ।
पछिल्लो २४ घण्टामा कास्कीको लुम्लेमा २ सय ५ मिलिमिटर वर्षा भएको छ । यस्तै २४ घण्टामा धनकुटाको त्रिवेणीमा १९५ मिलिमिटर र इलामको माइपोखरीमा १८२ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी प्रदेशभन्दा पूर्वतर्फ धेरैजसो ठाउँमा वर्षा भएको र अहिले प्रणाली पश्चिमतर्फ सरिरहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार यो प्रणाली भोलिसम्म रहेर त्यसपछि घट्दै जानेछ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर ठाउँभन्दा थोरै उत्तरतिर रहेकोले नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको उहाँले बताउनुभयो ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लामा रहेको मोदीखोला जलमापन केन्द्रमा अहिलेको जलसतह सतर्कता तह आसपास बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
यस्तै महाशाखाले सुनसरी र मोरङमा पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाका कारण बाढी, पहिरो, डुबानको सम्भावना रहने भएकोले सावधानी अपनाउन विभागको आग्रह छ । मौसमविद्हरूले विशेषगरी यात्रा गर्दा हुन सक्ने अवरोधबारे सावधानी अपनाउन आग्रह गरेका छन् ।