
काठमाडौं । अर्थ मन्त्रालयले हिजोदेखि शुरू भएको नयाँ आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनका लागि विस्तृत मार्गदर्शन सार्वजनिक गरेको छ ।
मार्गदर्शनले बजेट खर्चमा मितव्ययिता, वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारितामा विशेष जोड दिएको छ । मन्त्रालयले सार्वजनिक निकायहरूलाई बजेट खर्च गर्दा निर्धारित प्रक्रिया र मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।
साउन १ गतेदेखि शुरू नहुने कार्यक्रमहरूका लागि अग्रिम बजेट निकासा गर्न सकिने व्यवस्था गरिएको छ ।
मार्गदर्शनमार्फत मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रममा विनियोजित रकम सीमाभित्र रही खर्च गर्नुपर्ने र बजेट अनावश्यक रूपमा होल्ड नगर्न निर्देशन दिएको छ ।
मार्गदर्शनले बजेट रकमान्तर तथा कार्यक्रम संशोधनका विषयमा कडाइ गरेको छ । पूँजीगत खर्च शीर्षकको रकम चालु खर्चमा रकमान्तर गर्न नपाइने र स्रोत सहमति भएका कार्यक्रमहरूमा मात्र रकमान्तर गर्न पाइने प्रावधान राखिएको छ ।
राष्ट्रिय गौरवका आयोजनामा विस्तृत अध्ययन र तयारीविना बजेट हेरफेर गर्न नपाइने व्यवस्था छ ।
आयोजना कार्यान्वयनका लागि पूर्व तयारी, विस्तृत डिजाइन, लागत अनुमान, बोलपत्र मन्त्रालयले मन्त्रालयको पूर्व स्वीकृतिविना कर्मचारी भर्ना तथा ठेक्का सम्झौता गर्न नपाइने र स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन, अनावश्यक खर्च कटौती गर्न र खर्च गर्दा वित्तीय अनुशासन कायम गर्न अर्थ मन्त्रालयको निर्देशन छ ।
समयमै काम सम्पन्न गर्न तथा गुणस्तरमा सम्झौता नगर्न मन्त्रालयले सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।