२०८२ साउन १, बिहिवार , ०२:०५:१३ बजे

Sajhamanch
'

बेलायतमा तीन व्यक्तिको डीएनए प्रयोग गरेर जन्मिएका शिशु वंशाणुगत रोगमुक्त : अध्ययन

बिहिवार, साउन १, २०८२

झापा । बेलायतमा तीन जनाको डीएनए प्रयोग गरेर जन्मिएका आठ जना शिशुमा वंशाणुगत रोग फेला नपरेको वैज्ञानिकहरूले बताएका छन् । उनीहरूमा गम्भीर माइटोकोन्ड्रियाल रोग नदेखिएको वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

न्युक्यासल फर्टिलिटी सेन्टरमा गरिएको यो प्रविधिमा आमा र बाबुको अण्डा र शुक्राणुलाई तेस्रो महिलाको स्वस्थ अण्डासँग संयोजन गरिएको हो ।

माइटोकोन्ड्रियाल रोग आमाबाट बच्चामा सर्ने गर्छ जसले शरीरलाई ऊर्जा बनाउन नसक्ने बनाउँछ र गम्भीर अपाङ्गता वा शिशुको अकालमा ज्यानसम्म जान सक्छ ।

बेलायतमा यो प्रविधिले १० वर्षदेखि कानूनी मान्यता पाएको भए पनि अहिले मात्र प्रभावकारी परिणाम देखिएको हो । २२ परिवारले यो प्रविधि अपनाएकामा आठ शिशु (चार छोरा, चार छोरी) जन्मिएका खबरमा उल्लेख छ ।

सबै बच्चाहरू रोगमुक्त रहेका छन् र उनीहरू सामान्य रूपमा वृद्धि हुँदै गइरहेका छन् । वैज्ञानिकहरूका अनुसार यो प्रविधिबाट हरेक वर्ष २० देखि ३० शिशु जन्मन सक्ने सम्भावना छ ।

अहिलेसम्मका केही साना स्वास्थ्य समस्या माइटोकोन्ड्रियाल सम्बन्धित नभएको वैज्ञानिकहरूले बताएका छन् । वैज्ञानिकहरूले अझै केही प्रश्नहरूको अध्ययन गरिरहेकाले दीर्घकालीन प्रभाव मूल्याङ्कन भइरहेको छ ।

सम्बन्धित खबर