२०८२ साउन १, बिहिवार , ०६:१७:२८ बजे

Sajhamanch
'

नयाँ आर्थिक वर्ष शुरू : गएको आर्थिक वर्षमा राजस्व सङ्कलन बढ्यो

बिहिवार, साउन १, २०८२

काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ शुरू भएको छ । योसँगै बजेटमा भएको व्यवस्था कार्यान्वयनमा आएको छ ।

सरकारले बजेटमा ल्याएका करका नयाँ दरहरू कतिपय जेठ १५ गतेदेखि कार्यान्वनमा आएको थियो भने विलासिता कर लगायतका अरू व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ ।

सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको शुरुआतले विशेष अर्थ राख्ने गरेको छ ।

यसैबीच हिजोदेखि सकिएको आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अघिल्लो वर्षको भन्दा १ खर्ब २० अर्ब अर्थात ११।३३ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

अर्धवार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएकोमा संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

विपद्, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरू हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रूपमा राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले दाबी गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको आर्थिक वर्षमा सरकारले लक्ष्यको ८२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । असार मसान्तसम्म १५ खर्ब २३ अर्ब १० करोड रुपैयाँ बराबरको खर्च भएको हो ।

पूँजीगत खर्च यसपालि पनि निराशाजनक रह्यो । गएको आर्थिक वर्षमा तीन खर्ब ५२ अर्ब विनियोजन भएकोमा खर्च दुई खर्ब २२ अर्ब अर्थात् लक्ष्यको ६३.२ प्रतिशत मात्र खर्च भएको छ ।

सम्बन्धित खबर