
झापा । झापामा एक बर्षभित्र ५३४ जना फरार अभियुक्त पक्राउ गरेका छन् । झापा जिल्ला अदालतबाट फैसला कार्यान्वयन भई फरार सूचिमा रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र मातहत प्रहरी युनिटहरूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न मुद्दा शीर्षकमा फरार रहेका ४६३ पुरुष, ७० महिला र एक यौनिक अल्पसङ्ख्यक गरी जम्मा ५३४ जना फरार अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूबाट ७ करोड २७ लाख २४ हजार ८२१ रुपैयाँ ६६ पैसा जरिवाना असुल उपर गरिएको छ । पक्राउ परेकाहरूलाई झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका अयिभुक्तहरुलाई अदालतको आदेश बमोजिम कैद भुक्तानका लागी झापा कारागार चलान गरिएको छ ।
यसै क्रममा प्रहरीले सर्वोच्च अदालतको मिति २०८०/०७/१९ गतेको फैसला अनुसार जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा १० वर्ष कैद सजाय फैसला भई फरार रहेका भद्रपुर नगरपालिका-८ का ४८ वर्षीय खेमराज पोखरेल, उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७२/०३/१६ गतेको फैसलाले जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दामा १० वर्ष कैद फैसला भई फरार रहेका मेचीनगर नगरपालिका-७ का ३२ वर्षीय प्रदीप राई र उच्च अदालत पाटनको मिति २०८०/११/२९ गतेको फैसलाले राजश्व चुहावट मुद्दामा १ वर्ष २ महिना १५ दिन कैद र दुई करोड ८४ लाख ५८ हजार छ सय पाँच रुपैयाँ जरिवाना फैसला भई फरार रहेका बिर्तामोड नगरपालिका-८ का ३० वर्षीय अमिर लगुन विश्वकर्मा लगायतका अभियुक्तहरू पक्राउ परेको प्रहरी कार्यालय झापाले जानकारी दिए ।