
काठमाडौं । बितेको तीन महिनामा विपद्का घटनाबाट ९३ जनाको ज्यान गएको छ । विपद्मध्ये सबैभन्दा धेरै मौसमसँग सम्बन्धित घटनाका कारण ५४ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बुधबार सार्वजनिक गरेको वैशाख १ गतेदेखि असार ३२ गतेसम्मको विवरण अनुसार चट्याङ लागेर २६ जना, बाढीमा परेर १३ जना, पहिरोमा परेर ६ जना र हावाहुरीका कारण आठ जनाको ज्यान गएको छ । एक जनाको भारी वर्षाका कारण ज्यान गएको प्राधिकरणले जनाएको छ । बाढीमा परेका २२ जना हराइरहेका छन् ।
यस्तै पछिल्लो तीन महिनामा आगलागीमा परी १४ जना, लेक लागेर १२ जना, जनावरको आक्रमणबाट १२ जना र सर्पको टोकाइबाट दुई जनाले ज्यान गुमाएका छन् । बितेको तीन महिनामा विपद्का घटनामा परी ४४५ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ ।
विपद्का घटनाबाट तीन महिनाको अवधिमा चार हजार १३४ परिवार प्रभावित भएका छन् ।