२०८२ असार ३२, बुधवार , ०३:४९:५१ बजे

Sajhamanch
'

देशमा माग्ने छैनन् भन्ने टिप्पणीपछि क्युबाकी श्रममन्त्रीद्वारा राजीनामा

बुधवार, असार ३२, २०८२

झापा । देशमा माग्ने छैनन् भन्ने टिप्पणीपछि क्युबाकी श्रम तथा सामाजिक सुरक्षामन्त्री मार्टा एलेना फेइटो काब्रेराले पदबाट राजीनामा दिनुभएको छ ।

कम्युनिस्ट शासित टापुमा माग्नेहरूको अस्तित्वलाई अस्वीकार गर्ने टिप्पणी गरेपछि क्युबाली श्रममन्त्री काब्रेरा राजीनामा दिने अवस्थामा पुग्नुभएको बीबीसीले जनाएको छ । उहाँको राजीनामा क्युबाली कम्युनिस्ट पार्टी र सरकारले स्वीकृत गरेको छ ।

श्रममन्त्रीले क्युबामा माग्ने भन्ने कुनै चिज नभएको र सजिलै पैसा कमाउनका लागि माग्ने भएको नाटक गर्ने मानिसहरू पनि रहेको बताउनुभएको थियो ।

संसदीय सत्रमा उहाँले गरेको टिप्पणीलाई लिएर स्वदेश र विदेशमा रहेका क्युबालीहरूले व्यापक आलोचना गरेका थिए । त्यसपछि राष्ट्रपति मिगुएल डियाज–क्यानेलले प्रतिक्रिया जनाएलगत्तै श्रममन्त्री काब्रेराले राजीनामा दिनुभएको हो ।

गम्भीर आर्थिक सङ्कटसँग जुधिरहेको क्युबामा गरिबीको स्तर र खाद्यान्न अभाव झनै बढेको छ । सरकारले माग्नेहरूको सङ्ख्याबारेमा आधिकारिक तथ्याङ्क प्रकाशित नगरे पनि देशको गहिरो आर्थिक सङ्कटको बीचमा त्यस्ता मानिसहरूको सङ्ख्यामा वृद्धि भएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर