
झापा । टर्किएले यस वर्ष गुलेन आन्दोलनलाई लक्षित देशव्यापी कारबाहीमा ९१० जनालाई पक्राउ गरेको छ । एक हजार ६ जनालाई न्यायिक नियन्त्रणमा राखिएको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
विगत दुई हप्तामा मात्रै टर्किएका जेन्डरमेरी सेनाले अंकारा र अन्य १९ प्रान्तमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूलाई आन्दोलनसँग सम्बद्ध संस्थालाई वित्तपोषण गर्ने र सामाजिक सञ्जालमा प्रचार फैलाउने लगायतका आरोप लगाइएको छ ।
टर्किए सरकारले गुलेन आन्दोलनलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकृत गरेको छ । सन् २०१६ जुलाई १५ को कू प्रयास यसमा जोडिन्छ ।
यो आन्दोलनको नेतृत्व टर्किएका धर्मगुरु फेतुल्लाह गुलेनले गरेका थिए । असफल कूपछिका वर्षहरूमा टर्किएका अधिकारीले आन्दोलनसँग सम्बन्ध रहेको आरोपमा हजारौंलाई पक्राउ गरेका छन् ।