२०८२ असार ३२, बुधवार , १०:५३:३५ बजे

Sajhamanch
'

भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । राष्ट्रियसभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त हुनु भएको छ ।

नेकपा (एमाले)को कोटाबाट राष्ट्रियसभा सदस्य रहेकी न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज मन्त्री नियुक्त गर्नुभएको हो ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नु भएको छ’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि सोही मन्त्रालयको जिम्मेवारी पाएका राजकुमार गुप्ता घुस ‘अडिओ’ बाहिरिएसँगै आज राजीनामा बुझाएर जिम्मेवारीबाट विदा लिनुभएको थियो ।

तनुहँको भानु नगरपालिकाको प्रमुखमा २०७४ सालमा चुनाव लडेकी उहाँ नेपाली कांग्रेसका उदयराज गौलीसँग पराजित हुनुभएको थियो । त्यसको दुई वर्षपछि पार्टीले उहाँको ‘व्यवस्थापन’ राष्ट्रिय सभामा गरेको थियो। उहाँ २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएको हो । राष्ट्रिय सभामा उहाँले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नुहुन्छ ।

एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको राजनीतिबाट उदाएकी उहाँले अनेमसङ्घ तनहुँको सचिव हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको छ । उहाँ राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति सदस्यसमेत हुनुहुन्छ ।