
काठमाडौं । असार महिनामा मात्रै सरकारले दुई खर्ब २७ अर्ब रुपैयाँ भन्दा धेरै खर्च गरेको छ । चालू आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारले अबौँ रकम खर्च गरेको हो ।
सरकारी खर्चको हिसावकिताब राख्ने महालेखा नियन्त्रयक कार्यालयको तथ्याङ्कअनुसार असार एकदेखि ३० गतेसम्म अर्थात् ३० दिनमा सरकारले दुई खर्ब २७ अर्ब बजेट खर्च गरेको हो ।
असारमा गरिने ठूलो खर्चमाथि अर्थ विद्ले प्रश्न उठाउँदै आएका छन् । असार महिनामा मात्रै सरकारले चालू शिर्षक अर्थात् कर्मचारीको तलब भत्ता, गोष्ठीमा एक खर्ब २५ अर्ब सकेको छ ।
यस्तै, पुँजीगत शीर्षकमा सरकारले ७० अर्ब ४६ करोड भन्दा धेरै रकम खर्च गरेको हो । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको थियो ।
सरकारले अहिलेसम्म कुल बजेट १५ खर्ब १५ अर्ब खर्च गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बजेट ल्याएको थियो ।
त्यसको कार्यान्वयनको जिम्मेवारी सत्ता समीकरणमा आएको फेरबदलका कारण केपी शर्मा ओली नेतृत्वको सरकारले पाएको हो । बर्तमान काँग्रेसरएमालेको सरकार गठन भएको एक वर्ष भइसकेको छ । तर जन आकांक्षा अनुरुप काम हुन सकिरहेको छैन ।
चालू आर्थिक वर्ष भोलिदेखि सकिँदैछ । पर्सि बिहिवारदेखि नयाँ आर्थिक वर्ष अर्थात् २०८२/८३ को बजेट कार्यान्वयन शुरु हुनेछ । यसका लागि गएको जेठ १५ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउनुभएको छ ।
बजेट सङ्घीय संसदबाट पारित भइसकेकाले पर्सीदेखि कार्यान्वयनमा लैजान सरकारलाई कुनै अप्ठ्यारो छैन । सरकारले साउन एक गतेदेखि बजेट कार्यान्वयनमा लगेर आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको लगानी वृद्धि, रोजगारीको अवसर वृद्धि, पूर्वाधार आयोजना निर्धारित समयमै सम्पन्न हुनेसहित ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।