
काठमाडौं । असार सकिन लाग्दा देशभर करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालयका अनुसार हिजो असार २९ गतेसम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ । त्यहाँ ९३ प्रतिशत रोपाइँ भएको छ ।
कर्णालीमा ८३ प्रतिशत, लुम्बिनीमा ७३ प्रतिशत, कोशीमा ४१, बागमतीमा ७६, गण्डकीमा ६७ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । तर मधेशमा भने ३३ दशमलव ७८ प्रतिशत मात्रै रोपाइँ सकिएको छ ।
पानी नपर्दा मधेशमा धान रोपाइँ हुन सकेको छैन । आउँदा साउनको अन्तिम हप्तासम्म देशभर ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।
धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र राम्रो मानिन्छ । त्यस क्षेत्रबाट धानको उत्पादकत्व समेतमा वृद्धि भई कुल उत्पादनको ७० प्रतितशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ ।
गएको आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो ।
मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ । देशका करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने गर्छ ।