
झापा । युद्धविरामका लागि निरन्तर पहल गरिरहँदा पनि युक्रेनमा रुसले आक्रमण नरोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्ट देखिनु भएको छ ।
राष्ट्रपति ट्रम्पले युक्रेनलाई (पैट्रियट एअर डिफेन्स सिस्टम) हवाई प्रतिरक्षा प्रणाली पठाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।
ट्रम्पले युक्रेनलाई महँगो र अत्याधुनिक हतियारहरू पठाउने घोषणा यसअघि नै गरिसक्नु भएको थियो ।
नाटोमार्फत युक्रेनलाई मिसाइल र गोलाबारुद आपूर्ति गरिने बताउँदै उहाँले ५० दिनभित्र शान्ति सम्झौता नभए रुससँग व्यापार गर्ने देशहरूलाई शतप्रतिशत भन्सार कर लगाउने चेतावनी दिनुभएको छ ।
नाटो प्रमुख मार्क रुटेसँग भेटपछि ट्रम्पले युक्रेनलाई सहयोग गर्न अमेरिकाले युरोपेली देशहरूलाई आफ्ना पैट्रियट रक्षा प्रणाली पठाउन अनुरोध गरेको बताउनु भयो ।
रुटेले युक्रेनलाई आवश्यक सैन्य सामग्री आपूर्ति गरिने र यसको खर्च युरोपले बेहोर्ने जानकारी दिनुभएको खबरमा उल्लेख छ ।
ट्रम्पको यो घोषणा पछिल्लो पटक रुसप्रति आक्रोशपूर्ण शैलीमा आएको हो । उहाँले रुसका राष्ट्रपति पुटिनलाई ‘कडा मान्छे’ भन्दै वार्ताले मात्र केही नहुने बताउनु भएको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ट्रम्पको समर्थनप्रति धन्यवाद दिँदै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
रुसको प्रतिक्रिया औपचारिक रूपमा आइनसके पनि रूसी विश्लेषकहरूले ट्रम्पको घोषणालाई खाली धम्की भनेका छन । रुस युक्रेन युद्ध तीन वर्षदेखि चलिरहेको छ ।
अमेरिकाले यसअघि युक्रेनलाई हतियार रोक्ने घोषणा गरेको थियो । तर आफ्नै घोषणालाई खारेज गर्दै ट्रम्पले नयाँ सम्झौता गर्नुभएको हो ।
नयाँ सम्झौतामा अमेरिकाले युक्रेनमा पठाउने केही हतियारका लागि नाटोले अमेरिकालाई भुक्तानी गर्ने उल्लेख छ ।