
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (ईयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर बढाउने घोषणा गर्नुभएको छ । आउँदो अगस्ट १ अर्थात २० दिनपछि ३० प्रतिशत कर लगाउने ट्रम्पले घोषणा गर्नुभएको हो ।
ट्रम्पको घोषणापछि जर्मनीको प्रमुख उद्योग निकाय ‘जर्मन इन्डस्ट्रिज फेडेरेसन (बीडीआई) ले शनिवार वासिङ्टन र युरोपेली सङ्घलाई बढ्दो व्यापार द्वन्द्वको छिटो समाधान गर्न आग्रह गरेको छ ।
ट्रम्पको घोषणा एटलान्टिकका दुवै किनारका उद्योगहरूका लागि चेतावनी स्वरूप आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बीडीआईका वरिष्ठ अधिकारी वुल्फगांग निडरमार्कले अमेरिका र युरोपबीचको व्यापारिक तनावले आर्थिक पुनरुत्थान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यप्रति विश्वासमा आघात पुग्ने बताउनुभयो ।
महासङ्घले जर्मन सरकार, युरोपेली आयोग र अमेरिकी प्रशासनबीच तत्काल संवाद र सहमतिका लागि आह्वान गर्दै तनाव नियन्त्रणमा राख्न जोड दिएको छ । अमेरिका जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार मानिन्छ ।
राष्ट्रपति ट्रम्पले यसअघि पनि २० भन्दा बढी साझेदार राष्ट्रहरूलाई पत्र पठाउँदै आगामी कर नीतिका बारेमा चेतावनी दिइसक्नुभएको छ । उहाँले युरोपेली सङ्घसँगको व्यापार घाटा न्यूनीकरण गर्न नयाँ करहरू चाँडै लागू गरिने सङ्केत दिनुभएको छ ।