
बिर्तामोड । झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले यस वर्षदेखि बिटेक इन एआईको कक्षा सञ्चालन गर्ने भएको छ ।
महाविद्यालयले आज शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी विज्ञान तथा प्रविधि संकाय अन्तर्गत बिटेक इन एआई कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।
प्राचार्य डा. रुपक खनालले पूर्वाञ्चल विश्वविद्यालय अन्तरगत आठ सेमेस्टरमा अध्ययन अध्यापन हुने गरी उक्त कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । ‘अहिलेको युग सुहाउँदो प्राविधिक शिक्षा दिने हाम्रो उद्देश्य हो’ पत्रकार सम्मेलनमा डा. खनालले भन्नुभयो ।
विश्वव्यापी रुपमा फड्को मारिरहेको प्रविधिलाई आत्मसात गर्ने प्रयास गर्न लागिएको बताउँदै डा. खनालले घरको खाना खाएर विद्यार्थीले आधुनिक प्रविधिको शिक्षा प्राप्त गर्न पाउने बताउनु भयो ।
यस वर्षदेखि सञ्चालन हुने बिटेक इन एआईको कक्षामा जम्मा ४८ जना विद्यार्थी भर्ना हुन सक्नेछन् । कम आर्थिक अवस्था भएका तर अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्थासमेत रहेको प्रचार्य खनालको भनाई छ ।
भर्ना भएका विद्यार्थीको संख्याको आधारमा १० प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउने छन् भने कलेजले सेमिस्टारमा उत्कृष्ट गर्ने एकजना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिने जनाएको छ ।
यसैगरी गोमेन्द्र कलेजकै व्यवस्थापन समूहद्वारा यस वर्षदेखि नै बिए एलएलबी कक्षा पनि सञ्चालन गर्न लागिएको छ । राजश्री जनक विश्वविद्यालयको सम्बन्धनमा जिएम कलेजले पहिलो विषय आजैदेखि लन्च गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कलेज चिफ सरस्वती भुर्तेल खनालले प्रेस विज्ञप्ति वाचन गर्नुहुँदै ५ वर्षे उक्त कोर्षमा ४० जना विद्यार्थी भर्ना हुनसक्ने बताउनु भयो । कलेजले प्रयोगात्मक अभ्यासका लागि बेन्च निर्माण गरेको जनाइएको छ भने समय समयमा विभिन्न विश्वविद्यालयबाट भिजिटिङ प्रोफेसरहरु बोलाएर अध्यापन गराइने बताइएको छ ।