
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको छ । गर्भनर डा. विश्वनाथ पौडेलले आज आउँदो आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा विस्तारको लक्ष्य राखेको बताउनुभयो ।
केन्द्रीय बैंकले स्थायी तरलता दर अर्थात् बैंक दर ० दशमलव ५ प्रतिशत विन्दुले घटाई ६ प्रतिशतमा झारेको छ । त्यसैगरी नीतिगत दर ५ प्रतिशतबाट घटाई ४ दशमलव ५ प्रतिशत बनाइएको छ ।
साथै केन्द्रीय बैंकले स्थायी निक्षेप सङ्कलन दर ३ प्रतिशतबाट घटाई २ दशमलव ७५ प्रतिशत बनाएको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत प्रक्षेपण गरेको छ ।
सरकारले आउँदो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने मूल्यवृद्धि ५ दशमलव ५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ ।
गभर्नर पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड रुपैयाँ पुर्याइएको घोषणा गर्नुभयो । यसअघि यस्तो कर्जाको सीमा २ करोड रुपैयाँ थियो । त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ ।
यसअघि घरजग्गाको मूल्याङ्कनमा ५० प्रतिशतमात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । अब मूल्याङ्कनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।
नेपाल राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने शेयर धितो कर्जामा सीमा बढाइदिएको छ । यसअघि व्यक्तिलाई दिइँदै आएको शेयर धितो कर्जा सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ ।
धितो राखिने शेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ त्यही रकमको ७० प्रतिशत बैंकहरूले शेयर धितोमा कर्जा दिँदै आएका छन् । यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब रुपैयाँ प्रवाह भएको छ ।
कृषि, सञ्चारलगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको चालु पूँजी कर्जामा नेपाल राष्ट्र बैंकले केही सुविधा दिने भएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा २ हजार ५०० बाट बढाएर ३ हजार अमेरिकी डलर बनाइएको छ ।
आर्थिक वर्ष २०८२/८३ काे पूर्णपाठ