
झापा । चिप निर्माता कम्पनी एनभिडिया ४ ट्रिलियन अमेरिकी डलरको बजार मूल्य पुग्ने विश्वको पहिलो कम्पनी बनेको छ । कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) प्रविधिको मागमा भइरहेको निरन्तर वृद्धिबाट एनभिडियाले लाभ उठाइरहेको बीबीसीले जनाएको छ ।
बुधवार कम्पनीको एक कित्ताको शेयर २ दशमलव ४ प्रतिशतले बढेर १६४ डलरसम्म पुगेको थियो । विश्वकै सबैभन्दा मूल्यवाद् कम्पनी बनेको एनभिडियाले माइक्रोसफ्ट, एप्पल, अमेजन, मेटालगायतलाई पछि पारेको छ ।
अमेरिकामा रहेको यो कम्पनीले सन् २०२३ मा पहिलो पटक १ ट्रिलियन डलरको बजार मूल्य पुर्याएको थियो । त्यसबेलादेखि कम्पनीको बजार मूल्य द्रुत गतिमा बढ्दै गएको छ । वेडबश सेक्युरिटीजका प्राविधिक विश्लेषक डान इभ्सले एनभिडियाका लागि यो ऐतिहासिक क्षण भएको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीव्र हुँदै गएको ‘ट्यारिफ’ युद्धले विश्वव्यापी बजारमा असर पुगेपछि गएको अप्रिल महिनामा एनभिडियाको शेयर मूल्यमा उल्लेखनीय गिरावट आएको थियो । ट्रम्पको व्यापार नीतिहरूको बारेमा चिन्ता हटेको छैन तर एनभिडियाको शेयर गएको मे महिनादेखि तीव्र गतिमा बढिरहेको छ ।
एनभिडिया सन् १९९३ मा क्यालिफोर्नियामा स्थापना भएको थियो ।