
काठमाडौं । चीनको तिब्बत हुँदै भोटेकोशीमा मङ्गलवार बिहान आएको बाढीले नेपालतर्फ १० वटाभन्दा धेरै जलविद्युत् आयोजनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० ले जनाएको छ ।
इप्पानका अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका जलविद्युत् आयोजनामा क्षति पुर्याएको हो । सञ्चालनमा रहेका झन्डै २५० मेगावाट जलविद्युत् आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको इप्पानले जनाएको छ ।
रसुवागढी, त्रिशूली–थ्री ए, त्रिशूली जलविद्युत् केन्द्र, चिलिमे जलविद्युत्, माथिल्लो मैलुङ, देवीघाट जलविद्युत् परियोजना र मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएको छ । यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली–थ्री बी हब सबस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको इप्पानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
इप्पानका अनुसार देवीघाट, त्रिशूली र त्रिशूली–थ्री ए बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्रसमेतको सहभागितामा निर्माण भएका आयोजना हुन् । निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका हुन् । त्यस्तै निर्माणाधीन आयोजनामा माथिल्लो त्रिशूली ए, सुपर त्रिशूली, त्रिशुली–थ्री बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको र यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।
इप्पानले चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन आग्रहसमेत गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले क्षतिग्रस्त आयोजनाबाट विद्युत् उत्पादन र प्रसारण केही दिन रोकिने अवस्थाले करोडौं रुपैयाँ बराबरको घाटा बेहोर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।