२०८२ असार २६, बिहिवार , ०३:०२:२३ बजे

Sajhamanch
'

हिमताल विस्फोट भएर भोटेकोशीमा बाढी आएको निष्कर्ष

बिहिवार, असार २६, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोट भएर रसुवाको नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी आएको जनाएको हो । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।

ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा बाढीको घटना हुनुअघि र घटना भइसकेपछि तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ ।

अध्ययनले तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ । छिमेकी चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरेको बाढीविद् पराजुलीले बताउनुभएको छ ।

यस्तै अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकले चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको ‘सुप्राग्लेशियल’ ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् ।

जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले पनि ‘स्याटलाइट’ तस्वीरको प्रारम्भिक अध्ययनबाट तिब्बती क्षेत्रमा रहेको ‘सुप्राग्लेशियल’ ताल विस्फोटका कारण बाढी आएको देखिने बताउनुभएको छ ।

सम्बन्धित खबर